© २०२३
काठमाडौं ।
आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय छलफलमा राजनीतिक दलका नेताहरुले निर्वाचनका लागि शान्तिसुरक्षाको भरपर्दो वातावरण बनाउन सरकारलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार, प्रमुख राजनीतिक दलका नेता, सुरक्षा प्रमुख र निर्वाचन आयोगका पदाधिकारीबिच भएको छलफलमा दलका नेताहरुले भयरहित, निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएका हुन् ।
बालुवाटार छलफलपछि नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले तोकिएको समयमा निर्वाचन गर्न सरकारले अझै शान्ति सुरक्षाका लागि वातावरण बनाउनुपर्ने सुझाव दिएको बताए । रास्वपाका नेता शिशिर खनालले पनि भयरहित वातावरणमा चुनाव गराउने जिम्मा सरकारको भएकाले सोही अनुसार व्यवस्था मिलाउन आग्रह गरेको बताए ।
छलफलमा सहभागी रास्वपाकै नेतृ सोविता गौतमले निर्वाचन नै निकास भएकाले सबैले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएको बताइन् ।
छलफलमा एमाले नेताहरुले सरकारले अझै निर्वाचन गर्न शान्तिसुरक्षा दिन नसकेको र बैठकमै सुरक्षा प्रमुखहरुको ब्रिफिङले पनि सुरक्षा ग्यारेन्टी गर्न नसकेको भन्दै आफूहरु निर्वाचनप्रति ढुक्क हुन नसकेको बताएका छन् । एमाले नेता महेश बर्तौलाले निर्वाचनप्रति विश्वस्त हुन नसकेको बताए
‘सरकारले निर्वाचन गराउँछ भन्नेमा विश्वस्त हुन सकिएन । सुरक्षा प्रमुखहरुले पनि त्यस्तो संकेत गर्नुभएन,’ बर्तौलाले भने, ‘बैठकका लागि बैठक भयो, तर सुरक्षा प्रत्याभूति हुन्छ र चुनाव हुन्छ भन्नेमा हामी विश्वस्त हुन सकेनौं ।’
कांग्रेस नेतृ पुष्पा भुसालले फागुन २१ को निर्वाचन सम्पन्न गर्न सबै मिलेर अनुकूल वातावरण बनाउनुपर्ने र त्यसमा सबैको भूमिका रहने भएकोबारे छलफल भएको बताइन् । उनले कांग्रेसका तर्फबाट सरकारलाई गर्ने सहयोग गर्न समेत पछि नपर्ने धारणा राखेको बताइन् । त्यसक्रममा सुरक्षा प्रमुख र निर्वाचन आयोगका पदाधिकारीहरुले आ-आफ्नो ब्रिफिङ गरेका थिए । सुरक्षा प्रमुखहरुले सुरक्षा थ्रेटबारे पहिचान गरेको र निर्वाचनमा कुनैपनि सुरक्षा थ्रेट हुन नदिने विश्वास दिलाएको नेतृ भुसालले जानकारी दिइन् ।
‘राजनीतिक दल, उम्मेदवार र बुथ थ्रेट स्वीकार हुँदैन । यदि भयो भने त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ भन्यौं,’ भुसालले भनिन्, ‘सुरक्षा निकायले पनि थ्रेट हुँदैन भन्नुभयो ।’
राप्रपाका नेता भुवन पाठकले फागुन २१ को निर्वाचनअघि जेनजी, राजसंस्था र दलहरुबिच नवीन समझदारी गरे मात्र निर्वाचन उपलब्धिमूलक हुने धारणा राखेको बताए ।
दलका नेताहरुको धारणा सुनेपछि प्रधानमन्त्री सुशीला कार्कीले सरकार हरहालतमा निर्वाचन गराउन तयार रहेको बताइन् । ‘हामी निर्वाचन गर्न तयार छौं, निर्वाचनभन्दा अर्को विकल्प छैन, निर्वाचन गराएर हामी सत्ता हस्तान्तरण गर्न आतुर छौं’, प्रधानमन्त्रीको कार्कीको भनाइ थियो ।