© 2026
तिलोत्तमा ।
तिलोत्तमा ४ शितलकुन्जमा रहेको ज्ञानगङ्गा पाठशालाको १४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस बिहिबार सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्र अधिकारीले शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरुको मेहनतका कारण ज्ञानगंगा पाठशालाले सफलताको सिढी चढ्दै गएको बताए । उनले शैक्षिक गतिविधीमा मात्रै नभई विद्यालयले अन्य अतिरिक्त र प्रयोगात्मक धारतर्फ पनि उत्कृष्टता हासिल गर्दै गएको बताए ।
विद्यालयका परामर्शदाता तथा सल्लाहकार डा. विनोद पराजुलीले विद्यार्थीहरूलाई आफ्नो स्वास्थ्य र खानपानमा ध्यान दिएर सबै पक्षमा बलियो बन्न आग्रह गरेका थिए । उनले विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास र धैर्यता हुन आवश्यक रहेको जोड दिँदै विद्यालयको प्रगति लोभलाग्दो रहेको बताए ।
कार्यक्रममा विद्यालयका अध्यक्ष ऋषिराम पाण्डे, वडा अध्यक्ष हरिबहादुर क्षेत्री, सल्लाहकार टीकाराम घिमिरे, विद्यालय प्रबन्ध निर्देशक युवराज न्यौपाने लगायतले प्रयोगात्मक तथा समय सापेक्ष शिक्षा प्रदान गर्नु नै आजको आवश्यकता रहेको बताए ।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम अन्तर्गत विभिन्न गीत सङ्गीत, नृत्य, संवाद, नाटक, प्रहसन, भजन कीर्तन लगायतका फरक फरक विधामा आफ्नो कला र कौशलता प्रस्तुत गरेका थिए ।