Butwal Today

काठमाडौँको प्रदूषण घट्दै, आज प्रदूषित सहरको १८ औँ स्थानमा

८ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

काठमाडौँ उपत्यकाको वायु प्रदूषण घटिरहेको छ । आज दिउँसो वायु प्रदूषण घटेर वायु गुणस्तर सूचकाङ्क (एक्युआइ) ९९ पुगेको छ ।

गत मङ्गलबार उपत्यकाको एक्युआइ १९१ पुगेको थियो भने बुधबार सोही समयमा घटेर ११४ मा झरेको थियो । हावा चल्ने दर बढेसँगै वायु प्रदूषण पनि घटेको वातावरण विभागले जनाएको छ ।

एक्युआइका अनुसार मङ्गलबार काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएकामा आज १८औँ स्थानमा झरेको छ । हाल पाकिस्तानको लाहोर ३७३ एक्युआइसहित पहिलो र भारतको कोलकात्ता १८६ एक्युआइसहित दोस्रो स्थानमा छ ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सुक्खा मौसममा वायु प्रदूषण बढ्ने र वर्षा हुँदा तथा हावा चल्दा वायु प्रदूषण घट्ने जानकारी दिए । “वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न मद्दत गर्ने र हावाले धुलो तथा प्रदूषणका कण उठाएर लैजाँदा प्रदूषण कम हुन्छ”, उनले भने, “दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिइएका छौँ ।”

वातावरणविद् भुषण तुलाधारले समयमै पूर्व तयारी, पातपतिङ्गर व्यवस्थापन, डढेलो नियन्त्रण तथा सवारीसाधनको धुवाँ परीक्षण र मापदण्डको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको सुझाव दिए ।

एक्युआइको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ (हरियो सङ्केत), ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ (पहेँलो सङ्केत), १०१ देखि १५० सम्म ‘अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेष गरी श्वासप्रश्वास र मुटु रोगीलाई असर गर् नसक्ने जानकारहरू बताउँछन् ।

१५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिने वातावरणविद् तुलाधरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?