© 2026
पाल्पा ।
पाल्पाको दुर्गम निस्दी गाउँपालिका–सहलकोटका हुमबहादुर लामिछानेका लागि फोन गर्नु सामान्य काम होइन ।
घरबाट झन्डै तल झरेर अग्लो डाँडो समाउनुपर्छ, कहिलेकाहीँ रुखमै चढ्नुपर्छ । नेपाल टेलिकमको सिम प्रयोग गरे पनि नेटवर्क टिप्न सङ्घर्ष गर्नुपर्ने उनको बाध्यता मात्र होइन सहलकोट, झिरुवास, अर्चले र ज्यामिरेका अधिकांश बस्तीको साझा समस्या हो ।
“चुनावको बेला टावर ल्याइदिन्छौँ भन्ने वाचा धेरै सुन्यौँ,” झिरुवासकी कमला पाटा भन्छिन्, “तर आजसम्म फोन गर्न रुख चढ्नुपर्छ ।” सञ्चारको यस्तो अवस्थाले यहाँको विकास कति पछि परेको छ भन्ने स्पष्ट देखाउँछ ।
देश निर्वाचनमय छ । गाउँ–गाउँमा उम्मेदवारहरूको लर्को लागेको छ । तर स्थानीयका अनुसार विगतका चुनावमा पनि उही प्रतिबद्धता दोहोरिएका थिए – सञ्चार टावर, पक्की सडक, स्वास्थ्य चौकी स्तरोन्नति । तर परिणाम भने उस्तै छ ।
वर्षा याममा गाउँपालिकाको केन्द्रसम्म पुग्नै कठिन हुने सडक, आपत्कालीन स्वास्थ्य सेवाको अभाव र गुणस्तरीय शिक्षाको कमी यहाँका स्थायी समस्या हुन् ।
“बिरामी प¥यो भने बाँच्ने कि नबाँच्ने भन्ने डर हुन्छ,” अर्चलेका एक स्थानीयले भने, “एउटै दलका उही अनुहार वर्षौँदेखि भोट माग्न आउँछन्, तर काम देखिँदैन ।”
पाल्पाको निस्दी क्षेत्रमा २०४८ सालको पहिलो आमनिर्वाचनमा मात्र नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । त्यसपछि २०५१ सालको मध्यावधि निर्वाचनपछि नेकपा एमालेले यहाँ बलियो पकड बनायो । तर दुई दशकभन्दा बढी समयसम्म एउटै दलको प्रभाव रहँदा पनि स्थानीय विकास अपेक्षाअनुसार अघि बढ्न नसकेको गुनासो बढ्दो छ ।
झिरुवासका पूर्व शिक्षक दमनसिंह पाटा भन्छन्, “भूगोलले दुर्गम बनायो, राजनीतिले अझै पछि पा¥यो ।” उनका अनुसार प्रदेश र सङ्घीय तहबाट निर्वाचित प्रतिनिधिहरूले दीर्घकालीन योजना अघि सार्न सकेनन् । चुनाव जितेपछि गाउँ फर्किएर जनतासँग संवाद गर्ने संस्कार पनि कमजोर रह्यो ।
यस पटक निस्दीमा चार जना स्वतन्त्र उम्मेदवार मैदानमा छन् । स्थानीयका अनुसार पुराना दलप्रति बढ्दो असन्तुष्टिले वैकल्पिक शक्ति खोज्ने माहोल बनेको छ । कक्षा १२ मा अध्ययनरत रोशन नेपाली भन्छन्, “हामी नयाँ सोच चाहन्छौँ । पाँच वर्षका लागि भोट दिएको हो, बिचमै फर्किएर आए भने जनताले प्रश्न त गर्छन् ।”
गत भदौ २३–२४ मा युवा पुस्ताले देखाएको असन्तोषको लहरले ग्रामीण बस्तीमा प्रभाव पारेको एमालेकै एक पुराना कार्यकर्ता लेखनाथ पोखरेल स्वीकार गर्छन् । “पुरानो मत जोगाउनै कठिन छ,” उनी भन्छन्, “केहीले नयाँ पार्टी रोज्न खोज्दै छन्, केही पुरानो काङ्ग्रेसतिर फर्किने सोचमा छन् ।”
निस्दी, रम्भा र पूर्वखोलाका केही वडामा एमालेको प्रभाव बलियो मानिन्छ भने रामपुर र माथागढी काँग्रेसको आधार क्षेत्र हो । तर यस पटक जातीय र भाषिक समीकरण पनि निर्णायक बन्ने सङ्केत देखिन्छ । पूर्वखोला–सिलुवाका मानबहादुर वयम्बु भन्छन्, “यहाँ जातीय अपनत्वले पनि असर गर्छ । त्यसैले पुरानालाई साख जोगाउन सजिलो छैन ।”
स्थानीयहरूले विकासको मापदण्डका रूपमा आर्यभञ्ज्याङ–रामपुर सडकको अवस्था उदाहरणका रूपमा अघि सार्छन् । “यदि विकास भएको हो भने सडकले देखाउँछ,” अर्चलेका सन्तबीर सुनार भन्छन्, “नत्र नेताहरूको व्यक्तिगत प्रगति मात्र देखिन्छ ।”
ग्रामीण बस्तीमा सञ्चार, सडक, विद्युत र स्वास्थ्य सेवाको अभावले जनजीवन कष्टकर छ । वर्षा याममा एक्कासी बिरामी परे समयमै अस्पताल पु¥याउन नसक्दा ज्यान जोखिममा पर्ने अवस्था अझै छ । यस्तो यथार्थबिच मतदाताले विकासको स्पष्ट योजना र जवाफदेहिता खोजिरहेका छन् ।
निस्दी गाउँपालिका अर्चलेका नवयुवा सन्तोष राना भन्छन्, “यस पटक मत परिवर्तनको पक्षमा माहोल छ । काम नगर्नेहरूलाई आराम गराउने बेला आएको छ ।”
एमालेका लागि चुनौती पुरानो आधार जोगाउनु मात्र होइन, नयाँ पुस्ताको विश्वास जित्नु पनि हो । काँग्रेसले पनि आफ्नो पुरानो विरासत पुनः स्थापित गर्ने अवसर देखिरहेको छ ।
स्वतन्त्र उम्मेदवारहरूले असन्तुष्ट मत समेट्ने प्रयास गरिरहेका छन् । २०७९ सालको निर्वाचनमा पाल्पा निर्वाचन क्षेत्र–१ बाट नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
काँग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहालाई १० हजार ८ सय ४७ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित भएका थिए । आचार्यले ३१ हजार १ सय ३ मत पाउँदा काँग्रेसका गाहाले २० हजार २५६ मत ल्याएका थिए ।
आगामी फागुन २१ गते हुने निर्वाचनमा पाल्पा क्षेत्र नं. १ बाट उनै पूर्व सांसद नारायण प्रसाद आचार्य नै उम्मेदवार भएका छन् । पूर्वखोला गाउँपालिका–३ मा जन्मिएका आचार्य २०३९ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा सङ्गठित हुँदै २०७३ देखि ०७८ सम्म नेकपा (एमाले) पाल्पाको नवौँ जिल्ला कमिटी अध्यक्षसमेत भइसकेका अनुभवी नेता हुन् ।
यसै गरी नेपाली काँग्रेसले लुम्बिनी प्रदेशसभा सदस्य सन्दीप रानालाई उम्मेदवार बनाएको छ । राना काँग्रेसको महासमिति सदस्य तथा अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष पनि हुन् ।
ग्रामीण क्षेत्रका युवाहरूसँग नजिक रहेर सक्रिय राजनीति गर्दै आएका रानालाई पाल्पा १ मा एमालेको बलियो पकडलाई चुनौती दिन सक्ने उम्मेदवारका रूपमा हेरिएको छ ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीले यस क्षेत्रमा विमल पन्तलाई उम्मेदवार बनाएको छ । नयाँ राजनीतिक शक्तिका रूपमा उदाउँदै गएको रास्वपाको उपस्थितिले यस क्षेत्रमा प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ ।
यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट मगर मुक्ति मोर्चाको केन्द्रीय सदस्य रहेका हुमबहादुर सुनारी सहित अन्य दलबाट पनि उम्मेदवार छन् । राप्रपाबाट बृहस्पति अर्याल, राष्ट्रिय जनमोर्चाबाट नरमति सिंजाली, नेशनल रिपब्लिक नेपालबाट थमन सिं रेश्मी मगर, मंगोल नेशनल अर्गनाइजेशनबाट सलन चिदी मगर, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट पुरन गैहृे शर्मा उम्मेदवार छन् ।
निर्वाचन नजिकिँदै जाँदा निस्दीका दुर्गम बस्तीहरूमा बहस चर्किएको छ–वाचा र यथार्थबिचको दूरी कसले घटाउँछ ? नेटवर्क खोज्न रुख चढ्नुपर्ने गाउँलेहरूको अपेक्षा अब भाषणभन्दा ठोस काममा केन्द्रित छ ।
यस पटकको मत विभाजनले पुरानो समीकरण तोड्ने कि पुनः दोहोरिने—निर्णय भने मतपेटिकाले गर्नेछ ।