© 2026
‘निर्वाचनलाई पारदर्शी र जनमैत्री बनाऔँ’ भन्ने नाराका साथ दसौँ निर्वाचन दिवस आज मनाईदैछ ।
यो वर्ष निर्वाचन दिवसकै पूर्व सन्ध्यामा आम निर्वाचन समेत नजिक आएकोले यो दिवसको विशेष महत्त्व छ । यो दिवसले निर्वाचनलाई पारदर्शी र जनमैत्री बनाउनुपर्ने जुन नारा अघि सारेको छ, त्यो सान्दर्भिक छ ।
अबको दिनमा निश्चित रूपमा निर्वाचनलाई खर्चिलो बनाउनु हुँदैन । निर्वाचन प्रणालीलाई सुधार गरेर भए पनि जनमैत्री निर्वाचनतर्फ अघि बढ्नु जरुरी छ । निर्वाचनमा उम्मेदवारहरूले गर्ने अत्यधिक खर्चको लेखाजोखा समेत नहुने र यसका कारण सामान्य नागरिकले निर्वाचन समेत लड्न नसक्ने अवस्था उत्पन्न भइरहेको अवस्थामा निर्वाचनलाई पारदर्शी बनाउनु जरुरी छ ।
निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । आवधिक निर्वाचन लोकतन्त्रको प्राण हो तर त्यो भन्दैगर्दा निर्वाचनलाई भड्किलो र अपारदर्शी वनाउन हुँदैन । निर्वाचन दिवस सन्दर्भकै कुरा गर्दा विसं २०१५ फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्त्वपूर्ण दिनको स्मरण गर्दै निर्वाचन आयोगले विगत १० बर्षदेखि यो दिवस मनाउँदै आएको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दिवसका अवसरमा देश तथा विदेशमा रहका सम्पूर्ण नेपाली मतदातालाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
आम मतदातामा निर्वाचन र मतदानको महत्वलाई मनन गरी निर्वाचनका क्रियाकलापमा सरिक हुन दिवसले सदैव जागरूकता र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ । नेपालमा पहिलोपटक २०१५ साल फागुन ७ गते भएको आम निर्वाचनको स्मृतिमा हरेक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाईदै आएको छ ।
२०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाई बहुमत अर्थात् ७४ सिट प्राप्त गरेको थियो । उक्त निर्वाचनमा १६ वटा राजनीतिक दलले भाग लिएका थिए । विशेषतः मतदाता शिक्षा र निष्पक्ष मतदानको पैरवी गर्दै देशैभर विभिन्न अभियान र कार्यक्रमहरू गरिन्छ ।
निर्वाचन दिवस मनाउँदै गर्दा नेपालमा फेरीपनि निर्वाचन प्रणालीको बिषयलाई लिएर बहस आरम्भ भएको छ । त्यसो त निर्वाचन आयोगमाथि पनि बेलाबेलामा थुप्रै आरोपहरू लाग्ने गरेका छन । निर्वाचनको स्वच्छतालाई लिएर आयोगमाथि प्रश्न उठेका उदाहरण छन् । पछिल्लो समय निर्वाचनमा हुने अत्यधिक खर्चलाई लिएर धेरै प्रश्न उठेका छन् ।
निर्वाचनलाई कम खर्चिलो बनाउन आवश्यक नीतिमै संशोधन गर्नुपरे पनि आयोग तयार हुने गरी त्यस विषयमा बहस र परामर्श दिवसकै अवसरमा गर्नु जरुरी छ । त्यही भएर पनि आयोगले यो बर्षको दिवसको नारा पनि जनमैत्री निर्वाचन राखेको छ ।
यो दिवसकै सन्दर्भमा समानुपातिक निर्वाचन प्रणालीलाई लिएर पनि बहस आरम्भ गर्नु जरुरी देखिएको छ । धेरै निर्वाचन विज्ञहरूले पनि निर्वाचन प्रणालीका बिषयमा एकपटक कुरा उठाउनु पर्ने आवाज अभिब्यक्त गर्न थालेका छन् ।
वि.सं. २०१५ को पहिलो प्रजातान्त्रिक आम निर्वाचन पहिलो बालिग मताधिकारका आधारमा भएको आम निर्वाचन थियो । यस सन्दर्भमा आयोगले अहिलेसम्म गरेको काम र आगामी दिनमा गर्नुपर्ने दायित्वका विषयमा गंभीर छलफल गरोस् । निर्वाचन आयोग निर्वाचनलाई मर्यादित बनाउन आगामी रणनीतिक योजना तर्जुमा गर्न सफल हुने विश्वास गरिएको छ ।
आम नागरिकलाई निर्वाचनको महत्व, उपादेयता, यसको प्रभावकारीता आदि विषयमा सचेत वनाउनुपर्ने भएकोले आयोगको ध्यान त्यसतर्फ पनि जानु जरुरी छ । अहिले खर्चिलो निर्वाचन भयो भन्दै जनगुनासो बढिरहेको समयमा आयोगले आफ्नो स्थापना दिवसको अवसरमा बहस गरोस् ।
दिवसकै माध्यमबाट निर्वाचन प्रणाली लगायतका विषयमा योजनाबद्ध बहस होस् । खासगरि निर्वाचनलाई खर्चिलो, भडकिलो बनाउने भन्दा जनमैत्री बनाउने काम होस् । यो बिषयमा निर्वाचन आयोगको मात्रै होइन, उम्मेदवार, दलहरू र सिंगो नागरिक समाजको ध्यान जानु जरुरी छ ।