Butwal Today

निर्वाचन खर्च पारदर्शितामा सुस्तता: अधिकांश उम्मेदवार अझै बैंक खाताबाहिर 

८ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-
भैरहवा ।  प्रतिनिधिसभा निर्वाचन–२०८२ को तयारी तीव्र भइरहँदा रुपन्देहीमा उम्मेदवारहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठ्न थालेको छ।
१ सय ५५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिए पनि हालसम्म जम्मा २७ जनाले मात्रै निर्वाचन प्रयोजनका लागि अनिवार्य गरिएको बैङ्क खाता सञ्चालनमा ल्याएका छन् । पारदर्शिताको नारासँगै सुरु गरिएको नयाँ अभ्यास कार्यान्वयनको चरणमै सुस्त देखिएको छ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार ९८ जनाले बैङ्क खाता खोल्न सिफारिस लिएका छन्, तर ५७ जनाले अझै प्रक्रिया नै अघि बढाएका छैनन् । यस पटकदेखि उम्मेदवारले निर्वाचनसँग सम्बन्धित सम्पूर्ण आम्दानी र खर्च छुट्टै बैङ्क खातामार्फत गर्नुपर्ने प्रावधान लागू गरिएको छ ।
कार्यालयका लेखापाल केदार प्रसाद घिमिरेका अनुसार सिफारिसबिना खोलिएको खाता निर्वाचन प्रयोजनका लागि मान्य हुँदैन । “यो खाता निश्चित अवधिका लागि मात्र प्रयोग हुन्छ र कार्यालयको सिफारिस अनिवार्य छ,” उनले स्पष्ट पारे। केही उम्मेदवार प्रक्रिया बुझ्न कार्यालय पुगेका छन् भने केहीले सिफारिस नलिई खाता खोलेको पाइएको छ ।
पाँचै निर्वाचन क्षेत्रमा अवस्था फरक–फरक देखिएको छ। क्षेत्र नम्बर १ मा ८ जनाले खाता सञ्चालन गरेका छन् भने २१ जनाले सिफारिस लिएका छन् । क्षेत्र नम्बर २ मा ३९ उम्मेदवारमध्ये ६ जनाले खाता खोलेका छन् । क्षेत्र नम्बर ३ मा ६, क्षेत्र नम्बर ४ मा ४ र क्षेत्र नम्बर ५ मा ३ जनाले मात्र खाता सञ्चालन गरेका छन्। सिफारिस लिनेको सङ्ख्या भने अपेक्षाकृत बढी छ।
निर्वाचन आयोगले २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग सम्बन्धित खातामै जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ। आयोगका अनुसार यो व्यवस्था दण्डभन्दा पनि नैतिक उत्तरदायित्वलाई मजबुत बनाउन ल्याइएको हो। आगामी दिनमा निर्वाचन खर्चलाई अझ व्यवस्थित र पारदर्शी बनाउने आधार यही अभ्यासले तयार गर्ने विश्वास व्यक्त गरिएको छ।
यसबिच १ सय ५५ उम्मेदवारमध्ये १३ जनाले मात्र घोषणापत्र बुझाएका छन्, जसमा ६ जना स्वतन्त्र र ७ जना राजनीतिक दलका उम्मेदवार रहेका छन् ।
जिल्लामा ६ लाख ७२ हजार ५ सय २३ मतदाता रहेका छन् । पाँच निर्वाचन क्षेत्रमा २ सय ९ मतदान स्थल र ७ सय ३२ मतदान केन्द्र तय गरिएको छ। चुनाव नजिकिँदै जाँदा पारदर्शिता र जबाफदेहिताको परीक्षा भने अझै बाँकी देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?