© २०२३
नेपालगञ्ज, २३ मंसिर ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले प्रविधिमार्फत बढ्दै गएको लैङ्गिक हिंसाप्रति सबैजना संवेदनशील हुनुपर्ने बताएका छन् ।
लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको महिला समुत्थान परियोजनाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा नेपालगञ्जमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सेनाले, हिंसाको स्वरुप बदलिएकोले, अब हाम्रो चेतनाको स्वरुप पनि बदलिनुपर्ने बताए ।
उनले भने “पारिवारिक पीडा नै सामाजिक पीडा हो । हिंसा कुनै दिन–विशेषले रोकिन्न, चेतना जागेपछि मात्र रोकिन्छ ।” मन्त्री तिमिल्सेनाले शैक्षिक रुपान्तरण बिना हिंसा न्युनीकरण असम्भव हुने बताउँदै घर–परिवारबाटै हिंसा विरुद्धको अभियान थाल्न सबैलाई आग्रह गरे । उनले अगाडि थपे “प्रविधि आफैमा गलत होइन, तर यसलाई कुन नियतले प्रयोग गरिन्छ भन्ने नै निर्णायक हुन्छ । त्यसैले प्रविधिको सही प्रयोग सिकाउन हामी सबै जिम्मेवार छौँ ।” मन्त्री तिमिल्सेनाले अभिभावकलाई आफ्ना बालबालिकामा डिजिटल साक्षरताको महत्व बुझाउन विशेष जोड दिए । घरघरमा आजैदेखि डिजिटल शिक्षाको आधार बनाए हिंसाका धेरै सम्भावित दुर्घटना रोक्न सकिने उनको भनाइ थियो ।
सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशकी वरिष्ठ महिला विकास अधिकृत सम्झना सुवेदीले प्रविधिको तीव्र विकाससँगै लैङ्गिक हिंसाका स्वरुप फेरिंदै गएको बताइन् । उनका अनुसार, “प्रविधिको कारण हिंसामा आयामगत विविधता बढेको छ । त्यसैले नियन्त्रणका चुनौती पनि बढेका छन् ।” सुवेदीले लैङ्गिकताको मुद्दा १६ दिनमै सीमित नराखी वर्षभर निरन्तर उठान गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रमेश बिष्ट र लुम्बिनी प्राविधिक विश्वविद्यालयका वरिष्ठ उप–प्राध्यापक प्रतिक चन्दले प्रविधिको दुरुपयोग, साइबर हिंसा तथा लैङ्गिक जोखिमबारे छुट्टाछुट्टै प्रस्तुति दिएका थिए । सहभागीबीच लुम्बिनी प्रदेशमा बढ्दो लैङ्गिक हिंसा, त्यसका कारण, चुनौती र रोकथामका उपायबारे विस्तृत छलफल तथा अन्तक्र्रिया गरिएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्यद्वय सुशिला वादी र सञ्जु कुमारी चौधरी, लुम्बिनी प्राविधिक विश्वविद्यालयका उप–कुलपति प्राध्यापक.डा. विनोद ढकाल, जिल्ला समन्वय समिती बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरी, प्रदेश प्रहरी प्रमुख प्रहरी महानिरिक्षक राजेन्द्र भट्ट, पत्रकार महासंघ लुम्बिनी अध्यक्ष शुक्रक्रृषि चौलागाईंलगायतले लैङ्गिक हिंसा रोक्न ‘साझा दायित्व र निरन्तर प्रतिबद्धता’ आवश्यक रहेको बताएका थिए । अन्त्यमा मन्त्री तिमिल्सेना सहित उपस्थित सहभागीहरूले “लैङ्गिक हिंसा हुन नदिने” सामूहिक लिखित प्रतिबद्धता जनाएर अभियानलाई थप सशक्त बनाएका थिए ।